दिल्ली। छिमेकी देश भारतले २३ वटा नयाँ अन्तर–राज्य प्रसारण प्रणालीका विद्युतीय संरचना निर्माण गर्ने भएको छ। भारतले विभिन्न राज्यबीच प्रसारण प्रणालीको सञ्जाल विस्तार गर्न नयाँ संरचना निर्माणमा लगानी गर्न लागेको हो।
केन्द्रीय ऊर्जा मन्त्री आरके सिंहले १ खर्ब ५९ अर्ब भारु बराबरको लगानीका अन्तर–राज्य प्रसारण प्रणालीका २३ आयोजना स्वीकृति गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। जसमा १३ वटा प्रसारण प्रणालीका आयोजना निर्माण सम्पन्न गर्न १ खर्ब ४६ अर्ब ६६ करोड भारु लागत अनुमान गरिएको छ।
यसैगरी ११ अर्ब २७ करोड भारु लागत अनुमान गरिएका १० वटा प्रसारण प्रणालीका आयोजना ‘रेगुलेटेड ट्यारिफ मेकानिजम’ अन्तर्गत निर्माण गरिने त्यहाँको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ।ै सो लगानीमा निर्माण भएका प्रसारण प्रणालीका संरचनामा राजस्थान राज्यले उत्पादन गर्ने १४ हजार मेगावाट नवीकरणीय ऊर्जा प्रवाह गरिने जनाएको छ। यसैगरी गुजरात राज्यले उत्पादन गर्ने ४ हजार ५ सय मेगावाट नवीकरणीय ऊर्जा र मध्य प्रदेशले उत्पादन गर्ने १ हजार मेगावाट बराबरको निमुच सोलार पार्क आयोजनाको विद्युत सोही प्रसारण प्रणालीमा जोड्ने समाचारमा जनाइएको छ।
अन्तर–राज्य प्रसारण प्रणालीको विकासले विद्युत पहुँच नपुगेका क्षेत्रमा विद्युतीकरण विस्तार गर्न सहज हुने त्यहाँको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार उपभोक्ताले पनि गुणस्तरीय विद्युत उपयोग गर्न पाउने भएका छन्। भारतलाई कोइलामा आधारित विद्युत माथिको निर्भरता कम गर्न नवीकरणीय ऊर्जामा लगानी बढाउनु पर्ने बाध्यता रहेको छ।