एजेन्सी। इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकोप्टर दुर्घटनामा परेको छ । आइतबार खराब मौसमका कारण राष्ट्रपति सवार हेलिकोप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटना भएकाे हाे।
राष्ट्रपतिको खोजी जारी रहेको र उनको अवस्थाबारे कुनै खबर प्राप्त नभएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
खोज र उद्धार टोली दुर्गम पहाडी क्षेत्रमा गएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । हेलिकोप्टरमा विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियान पनि सवार थिए ।
आधिकारिक आईआरएनए समाचार एजेन्सीका अनुसार आइतबारको दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको हो । ६३ वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा गएका थिए । त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए ।
उनको सवारीमा तीनवटा हेलिकोप्टर थिए । अन्य दुई हेलिकोप्टर सुरक्षित रूपमा आफ्नो गन्तव्यमा पुगेको तस्निम समाचार एजेन्सीले जनाएको छ । हेलिकोप्टरमा विदेशमन्त्री र स्थानीय अधिकारी रायसीकै हेलिकोप्टरमा सवार रहेको आईआरएनएले जनाएको छ ।