बाजुरा। तिन दिनदेखि बाजुुराको कोल्टी क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ। कालजाग्रास्थित नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ परेपछि सेवा अवरुद्ध भएको हो।
टेलिफोन सेवा अवरुद्ध हँुदा कोल्टीमा बैंकिङ गतिविधिलगायत अन्य सम्पूर्ण अवरोध भएको छ। फोन र नेट दुवै सेवा बन्द हुँदा सरकारी तथा गैरसरकारी संस्थाको कामकाज प्रभावित भएको छ। टेलिकम बाजुराका अनुसार काठमाडौँबाट सामान मगाउनुपर्ने भएकाले सञ्चालनमा ल्याउन ढिलाइ भएको बताइएको छ। डडेल्धुराबाट प्राविधिक टोली आइसकेको र सामान बाटोमा रहेकाले आज साँझसम्म सेवा सञ्चालनमा आउन सक्ने जनाइएको छ।
सदरमुकाम मार्तडी क्षेत्रमा सञ्चालनमा रहेको इन्टरनेट सेवासमेत गुणस्तरीय नहुँदा दैनिक कामकाजमा समस्या हुने गरेको गुनासो बारम्बार आउने गरेको छ। दुई साताअघि मात्रै जिल्लास्थित सञ्चारकर्मीले इन्टरनेट सेवालाई गुणस्तरीय बनाउन माग गर्दै नेपाल टेलिकम शाखा बाजुरा र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए।