तनहुँ। तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा भएको आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन गरिएको छ। व्यास नगरपालिकाले सोही वडाका अध्यक्ष अनुप रानाको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँ, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाइ सभापति सुकनारायण मल्ल, पीडितका तर्फबाट केहरसिंह आले, प्रतापसिंह अधिकारी र नगरपालिकाका इन्जिनियर सुवास गौतम सदस्य रहेका छन् ।
तीन दिनभित्र क्षतिको विवरण सङ्कलन गरी पेस गर्न समितिलाई भनिएको नगरपालिकाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँको प्रारम्भिक अनुमानअनुसार आगलागीबाट रु सात करोड ६० लाखको क्षति भएको छ।