काठमाडौं। वीरगञ्जको सुख्खा बन्दरगाह कार्यालय पूर्ण अनलाइन प्रणालीमा जाने भएको छ। आगामी माग १ गतेबाट सुख्खा बन्दरगाहका सम्पूर्ण काम अनलाइन प्रणालीमा सुरु हुने भएको हो।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बन्दरगाहको सम्पूर्ण काम कागज नगद तथा चेकरहित कारोबार माघ १ गतेदेखि लागू गरिने जानकारी दिए। उनले भन्सार विभागले बन्दरगाह र आइसिपीको काम कागज र नगदरहित बनाउन सबै पूर्वाधारहरुको प्रक्रिया पूरा गरिएको पनि बताए।
नेपाल विश्वमै सबैभन्दा बढी कागजको आइसिपी, बन्दरगाह भन्सार कार्यालयमा कागज तथा नगदरहित बनाउँदा व्यवसायीको समय र खर्च पनि कम हुने विश्वास गरिएको छ।
सुख्खा बन्दरगाहमा पूर्वाधारको कमि तथा दक्ष प्राविधिक जनशक्ति अभावका कारण काम गर्न समस्या भइरहेको छ। भन्सारमा विदेशबाट आएका समान तथा ट्रक–कन्टेनर स्क्यानका लागि ल्याइएको मेसिन प्राविधिक नहुँदा विगत १० वर्षदेखि त्यतिकै थन्किएर बसेका छन्।
चीन सरकारले अनुदानमा दिएको स्क्यान मेसिन भन्सारका कर्मचारीले चलाउन नजान्दा प्रयोगविहीन भएको बताइएको छ। यस्तै, भारतबाट आएका समान तथा ट्रक स्क्यान गर्ने समस्या रहेको भन्दै पौडेलले मेसिन चलाउने प्राविधिकको अभावले भौतिक रुपमै कन्टेनरहरुको समान अनुमानित गर्नुपर्ने, भन्सारमा कन्टेनर थुप्रिएर बस्ने, जाम हुने गरेका बताए। प्राप्त भौतिक पूर्वाधार तथा प्राविधिकको कमि हुँदा भन्सारमा आएका कन्टेनरको सामान समयमा पास गर्न सकिएको छैन।