काठमाडौं। गुल्मी जिल्लामा अक्सिजन उत्पादन शुरु भएको छ। गुल्मी अस्पतालमा निर्माण भएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुन थालेको हो। जिल्लामै अक्सिजन उत्पादन गर्ने उद्देश्यले ल्याइएका सामग्रीमा लामो समयदेखि सञ्चालनमा नल्याउँदा खिया लाग्न थालेका थिए। तर, हाल दैनिक ४० वटा अक्सिजन सिलिन्डर प्लान्टबाट उत्पादन हुन थालिएको छ।
जिल्ला सदरमुकाम तम्घासमा रहेको अस्पतालमा करिब डेढ करोडको लागतमा प्रतिदिन एक सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट सञ्चलनमा आएको हो। यसैगरी कोरोना महामारीमा संक्रमितको उपचारमा अक्सिजनको अभाव जिल्लामा नहोस् भनेर जिल्लाबाटै अक्सिजन उत्पादन गर्ने उद्देश्यले प्लान्ट निर्माण कार्य अगाडि बढाइएको थियो।
अक्सिजन प्लान्ट सञ्चालन गर्न गत असारमै सामग्रीहरु गुल्मी अस्पतालमा आएको भएपनि अक्सिजन प्लान्ट राख्ने भवनको समयमै काम नसक्दा अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाइ भएको थियो। प्राविधिक आएर प्लान्ट निर्माण कार्य पूरा भएकाले अक्सिजन उत्पादन हुन थालेको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले जानकारी गराएका छन्। हाल गुल्मी अस्पतालमा दैनिक ५ वटा अक्सिजन सिलिन्डर खपत हुने गरेको छ। जिल्ला अस्पतालबाट उत्पादन गरिएको अक्सिजन अन्य सर्वसाधारणलाई पनि भर्ने व्यवस्था बारे आवश्यक छलफलपछि मात्रै निर्णय गरिने उनको भनाइ छ।
जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्नेहरुले पनि लामो समयसम्म सञ्चालनमा आउन नसक्दा प्रश्न उठाएका थिए। तर, ढिलो भए पनि जिल्लामै अक्सिजन उत्पदान हुनु खुसीको कुरा रहेको प्लान्ट निर्माणमा सहयोगी गुल्मी उद्योग वाणिज्य संघका महासचिवले बताएका छन्। उक्त अक्सिजन प्लान्ट निर्माणका लागि नेपाल सरकारबाट १ करोड र नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्लास्थित सामाजिक संघ–संस्था व्यक्तिहरुको सहयोगमा ६० लाख संकलन गरिएको थियो।