काठमाडौं। सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय आरोही जोसुआ चेरियटको किरुईकोको मृत्यु भएको छ। पर्यटन विभागका अनुसार विना अक्सिजन सगरमाथा आरोहणका क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो।
बुधवार राति सगरमाथा चुचुरोनजिकै (८ हजार ८३० मिटर) उनी मृतावस्थामा भेटिएका थिए। मे १८ तारिखका दिन नेपाली गाइड सोलुखुम्बुका ङवाङ शेर्पाका साथ विनाअक्सिजन जोसुआ सगरमाथाको आधारशिविरबाट दोस्रो शिविरतर्फ गएका थिए।
उनी मे २० मा तेस्रो शिविर पुगेका थिए। मे २१ मा चौथो शिविर पुगेका उनीहरु मे २२ (बुधवार) विहान सगरमाथा चुचुरोतर्फ लागेका थिए। राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको थियो।