एजेन्सी। भारतमा श्रीकाशी विश्वनाथधाम करिडोर निर्माण सम्पन्न भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वाकांक्षी परियोजना श्रीकाशी विश्वनाथधाम करिडोरको निर्माण पूरा भएको हो।
प्रधानमन्त्री मोदीले बनारसमा आयोजित भव्य समारोहबीच करिडोर सार्वजनिक गरेका छन्।
यो परियोजना ७ अर्ब लागतमा ३३ महिनामा सम्पन्न भएको हो। यसअघि ३ हजार वर्ग फिटमा रहेको मन्दिर क्षेत्रलाई विस्तार गरेर ६ लाख वर्ग फिट बनाइएको छ।
करिडोरको निर्माणसँगै विश्वनाथधाममा अब एकैपटक ५० देखि ७५ हजार दर्शनार्थी उपस्थित हुन सक्ने बताइएको छ। प्रधानमन्त्री मोदीले काशी विश्वनाथ धामको लोकार्पणले भारतलाई एक निर्णायक दिशा दिने भन्दै भारतले आफ्नो गुमाएको विरासत फर्काएको बताए।
उनले आफ्ना लागि भारतका जनता नै भगवानको रुप रहेको भन्दै मुलुकले यतिबेला जनताबाट स्वच्छता, सृजना र आत्मनिर्भरताको संकल्प खोजेको बताए। काशी अहिंसा र तपको धर्ती रहेको भन्दै जगद्गुरू शंकराचार्यलाई पनि श्रीडोम राजाको पवित्रताबाट मुलुकलाई एक सूत्रमा बाँधने प्रेरणा मिलेको बताए।