काठमाडौं। कञ्चरपुरको पुनर्वास नगरपालिकामा विपन्न परिवारको खर हटाएर टिनको छाना राख्ने कार्य सुरु भएको छ। सङ्घीय सरकारको सुरक्षित आवास कार्यक्रम अन्तर्गत नगरपालिका क्षेत्रका ११ वटै वडामा कार्यक्रम सञ्चालन गरिएको हो।
नगरप्रमुख जीवनराज थापाका अनुसार नगरपालिकाभित्र रहेका विपन्न अवस्थाका १६८ परिवारको घरमा टिनको छाना राख्नका लागि छनोटको कार्य भइसकेको छ। कार्यक्रम सञ्चालनका लागि अनुदान पाउने किसानसँग सम्झौताको कार्य गरिएको छ। अनुदान रकमका लागि घर पूरै खरको प्रयोग गरी बनाइएको छ भने त्यस्तो घरलाई पहिलो, छानामा खर र पर्खाल काठको बनाइएको छ भने दोस्रो र छानामा टायललगायतको प्रयोग गरिएको छ भने तेस्रो प्राथमिकतामा राखेर छनोट गरिएको छ।
खरको छाना हटाएर टिनको छाना राख्नका लागि छनोटमा परेकासँग सम्झौता गरी पहिलो किस्ताको रकम बैंक खातामार्फत उपलव्ध गराउने तयारी भइरहेको उनले जानकारी दिए। नगरमा बसोबास गर्ने बासिन्दाले झोपडीमा बस्नु नपरोस् भन्नका लागि कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ। असुरक्षित घरमा बस्दा आगलागी भई क्षति व्यहोर्नु पर्ने र सर्प लगायतका विषालु कीराको टोकाइ बासिन्दा प्रभावित नहुन भन्नकै लागि खरको छाना हटाउने अभियान सञ्चान गरेको उनले बताए।