तनहुँ। राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको विश्वकै अग्लो सालिक उनकै जन्मस्थलमा निर्माण गरिने भएको छ। अमेरिकास्थित इन्टरनेशनल वेलफियर एण्ड सर्पोट फाउण्डेसनले सालिक निर्माण गर्ने भएको हो। यसैगरी फाउण्डेसनको टोलीले आदिकविको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ स्थित चुँदीरम्घामा सालिक निर्माणका लागि सोमबार स्थलगत अध्ययन गरेको छ।
स्थलगत अध्ययनपछि भानुभक्तको सबैभन्दा अग्लो सालिक खोजी गरेर त्यसकै आधारमा चुँदीरम्घामा सालिक निर्माण गरिने जनाइएको छ। समिति गठन गरेर यथाशीघ्र शालिक निर्माण थालिने फाउण्डेसनका अध्यक्षले जानकारी दिएका छन्। भानुभक्त नेपालसँग मात्रै सीमित नभई विश्वभरि रहेका नेपालीहरुले मान्ने साझा व्यक्तित्व भएको फाउण्डेसनको भनाइ रहेको छ। यसैगरी विश्वभर सन्देश पुगाउन फाउण्डेसनको तर्फबाट सालिक निर्माणको काम गर्ने योजना बनेको जनाइएको छ।
सो सालिक निर्माणका लागि करोडौं रुपियाँ लागे पनि संस्था त्यसका लागि तयार रहेको जनाइएको छ। यसैगरी भानु नगरपालिका –४ का अध्यक्षले आदिकविको भाषिक, धार्मिक र पर्यटकीयस्थलको रुपमा महत्वपूर्ण भएको र फाउण्डेसनले मूर्ति निर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकोमा खुसी लागेको बताएका छन्।