काठमाडौं। भक्तपुरको हनुमानघाटमा सुधारिएको शवदाहगृह निर्माण गरिने भएको छ। भक्तपुर नगरपालिका र स्थानीयको सहयोगमा दाउरा कम प्रयोग हुने गरी आधुनिक शवदाहगृह निर्माण गरिन लागेको हो।
वडा नम्बर ७ स्थित हनुमानघाटमा लाश जलाइँदा धुवाँ र प्रदूषण कम गर्न सुधारिएको शवदाहगृह निर्माण गर्न लागिएको नगरपालिकाले जानकारी दिएको छ। नगरबासी बाटै उक्त शवदाहगृह निर्माणको माग आएपछि नयाँ प्रविधिसहितको सुधारिएको शवदाहगृह निर्माण गरिन लागेको हो।
व्यवस्थित शवदाहगृह निर्माणले हनुमानघाटमा हुने प्रदूषण कम गरी सरसफाइमा ध्यान दिन सकिने छ। शवदाहगृह निर्माणका लागि पालिकाले ५७ लाख ५७ हजार ४३३ रुपैयाँको बजेट अनुमान गरेको छ।
सुधारिएको शवदाहगृहमा शवको दाहसंस्कार गर्दा २ घन्टा बढी समय नलाग्ने, परालले छोप्नु नपर्ने, फलामे ढकनी प्रयोग हुने, धुवाँ कम आउने भएकाले प्रदूषण कम हुने, दाउरा साविकभन्दा आधा मात्र लाग्ने र गुठीको परम्पराअनुसार संस्कार पु¥याएर दाहसंस्कार गर्न मिल्ने उपभोक्ता समितिले जानकारी दिएको छ।