पाँचथर। पाँचथरको फिदिम–१० र फालेलुङ–८ का उपभोक्ताले खानेपानी माग्दै आन्दोलन गरेका छन् । आइतबार सडकमा रित्तो गाग्री र प्लेकार्ड राखेर आन्दोलन गरेका हुन्।
त्यहाँका उपभोक्ताले फालेलुङ–७ सिदिनस्थित प्युरेखोला मुहान भएर फिदिम–१० र फालेलुङ–८ का नागरिकलाई पानी वितरण गर्न लागिए पनि काम सक्ने बेलामा मुहान क्षेत्रका नागरिकले अवरोध गरेको भन्दै आइतबार आकासेभन्ज्याङमा रित्ता गाग्री र प्लेकार्ड राखेर प्रदर्शन गरेका हुन् । आन्दोलनमा करिब दुई सय नागरिक सहभागी थिए । उनीहरूको आन्दोलनका कारण फिदिमबाट फालेलुङतर्फ र फालेलुङबाट फिदिमतर्फ आउने सबै खालका सवारीसाधन आवागमन ठप्प भएका छन् ।
दुई वटा वडाका एक हजार २११ घरधुरीलाई खानेपानी सुविधा दिन २०७९ साल साउन ४ गतेदेखि सुरु गरेर आयोजनाको ८० प्रतिशतभन्दा धेरै काम सकिसके पनि त्यस क्षेत्रका नागरिकको अवरोधका कारण काम सम्पन्न हुन नसकेको उपभोक्ता समितिका अध्यक्ष सिकुमहाङ जबेगूले बताए। समितिले फिदिम–१० का वडाध्यक्ष होमराज थाम्सुहाङ र फालेलुङ–८ का वडाध्यक्ष श्रीहाङ केरुङको उपस्थितिमा केही दिनअघि फिदिममा पत्रकार सम्मेलन गर्दै सुक्खा क्षेत्रका नागरिकलाई खानेपानी उपलब्ध गराउन थालिएको आयोजनामा पटक पटक अवरोध भए पनि समाधानका लागि सरोकारवाला पक्षले वार्ता अगाडि नबढाएको गुनासो पोखेका थिए ।
उनीहरूले असार ८ गतेभित्र आयोजनाको विवाद मिलाउन भन्दै जिल्ला प्रशासन कार्यालय पाँचथरसहित जिल्लाका राजनीतिक दल र प्रहरीलाई ज्ञापनपत्र दिएका थिए । आफ्नो मागको सुनुवाइ नभएको भन्दै आन्दोलन सुरु गरिएको अध्यक्ष जबेगूको भनाइ छ । गोरखापत्रबाट