काठमाडौं । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द गरिएको छ। मेलम्ची नदीको बहाब बढेर बाढी आइ पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको जनाइएको छ।
माथिल्लो तटीय क्षेत्रमा पानी परिररहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा क्षति पुर्याएको थियो। साथै आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएकाे छ।
गत जेठ ३१ गतेदेखि नै आपूर्ति बन्द गर्ने भनिए पनि ठूलो वर्षा नहुँदा बन्द गरिएको थिएन्। समितिले गत शुक्रबार पनि मेलम्ची बन्द गर्ने तयारी गरेको थियो। तर नदीमा पानीको वहाब नबढेपछि आयोजना सञ्चालन नै राखिएको थियो।
परामर्शदाता तथा एसियाली विकास बैंक (एडिबी) ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिएका थिए। मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्समा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरुभएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि सञ्चालन गर्दै आएको छ।