काठमाडौं। बाढीपहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान पुनः सडक सञ्जालसँग जोडिएको छ। मेलम्ची बजारदेखि आयोजनाको मुहानसम्म अस्थायी सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। गत असार १ गते आएको बाढीपहिरोका कारण सडक र पुल बगाउँदा मेलम्चीको मुहान सडकमार्गबाट सम्पर्क विच्छेद भएको थियो। बाढीले आयोजना स्थलसम्म पुग्ने छ किलोमिटर सडक र पाँचवटा पुल बगाएको थियो।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ताले मेलम्चीको मुहान स्थलसम्म पुग्न अस्थायी रूपमा सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको जानकारी दिएका छन्। यो भन्दा अगाडी सडकमार्ग नभएको कारणले गर्दा आयोजना स्थलसम्म पुग्न सक्ने अवस्था नभएकाले आयोजनाको मुहान, हेड वक्र्स र सुरुङमा पुगेको क्षतिबारे यकिन हुन सकेको थिएन। तर सडक निर्माण भएसँगै सहज रूपमा आयोजना स्थलसम्म पुगी क्षतिबारे यकिन गरी काम सुरु गर्न सकिने उनले जानकारी दिएका छन्।
मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालनमा ल्याउन तयार पारिएको अल्पकालीन कार्ययोजना सम्पन्न गर्न आवश्यक पर्ने डेढ अर्ब रुपियाँका लागि अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ताले जानकारी दिएका छन्। हाल बाढीपहिरोले बगाएका संरचनाको स्थायी निर्माणका लागि खानेपानी मन्त्रालय र एसियाली विकास बैङ्कले संयुक्त रूपमा अध्ययन गरिरहेका छन् र अध्ययन प्रतिवेदनका आधारमा स्थायी संरचना निर्माण गरिने जनाइएको छ।
मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोबाट क्षति पुगेका संरचनाको पुनर्निर्माण तथा उपत्यकामा मेलम्चीको पुनः पानी ल्याउने गरी विस्तृत कार्ययोजना तयार गरी खानेपानी मन्त्रालयमा बुझाइसकेको हुनाले मन्त्रालयले सो कार्ययोजनालाई विस्तृत अध्ययन गरी अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्तुत गरिसकेको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ।