म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा स्टार स्पोर्टस् क्लबले चन्दा उठाएर खेलमैदान बनाइएको छ। स्थानीयवासी, प्रवासीहरूबाट ३५ लाखभन्दा बढी चन्दा उठाएर ४३ लाख ७७ हजारको लगानीमा खेलमैदान निर्माण गरिएको हो।
क्लबका अध्यक्ष केशव पाइजाले खेलमैदानमा भलिबल, बास्केटबल र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने बताएका छन्। खेल मैदान निर्माण गरेपछि खेलाडीहरूलाई अभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको स्थानीयको भनाइ छ।
स्थानीयवासीले उपलब्ध गराएको पाखोबारी सम्याएर ढलानसहितको खेलमैदान निर्माण गरिएको हो । चालीस मिटर लम्बाइ र १८ मिटर चौडाइमा ढलान गरी फाइबर बोर्ड राखिएको खेलमैदानको कुनातर्फ दर्शक बसेर खेल अवलोकन गर्न मिल्ने प्यारापिट बनाइएको छ ।