काठमाडौं। साना साना योजना निर्माण गर्दा कर्मचारीले कमिसन खाने गरेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन्। सुनसरीस्थित इटहरी–१७ मा निर्माण हुने आँखा अस्पतालको शिलान्यास गर्दै उनले १० लाखको निर्माणको काम गर्दा कर्मचारीले चिया,नास्ता र कमिसनको नाममा दुई लाखसम्म कमिसन खाने गरेको आरोप लगाएका हुन्।
यसैगरी सबैलाई अलिअलि गरेर बाँड्नु भन्दा एकै ठाउँमा धेरै रकम लगानी गरेर छिटो काम सक्नु पर्नेमा नेता नेपालले जोड दिएका छन्। उनले कर्मचारीतन्त्र र उपभोक्तावादी भएकै कारण समयमा काम नगर्ने कमिसनको भरमा आफ्नो जिन्दगी चलाउनेसमेत आरोप लगाएका छन। उनले भने ‘एकै चोटी कनिका छरे जस्तो गरेर एउटा पनि काम हुँदैन। त्यही कनिका पनि कर्मचारीलाई दुई लाख दिएको हुन्छ। काम देखाउनु पर्यो भने पाँच ओटा इँटा देखाउने परम्परा छ।’
यसैगरी विकास निर्माणको काममा भएको हेलचेक्क्राइले देशको विकासमा नै संकट आउने भएका कारणले कमिसनको खेललाई विस्थापित गरी एउटा योजनामा धेरै बजेट लगानी गरेर निर्माण कार्य छिटो सक्नु पर्ने उनको भनाइ छ।