हेटौंडा। निर्माण व्यवसायी संघ मकवानपुरको नेतृत्वमा निर्माण व्यवसायीहरुले शुक्रबार सडक डिभिजन हेटौंडामा ताला लगाएका छन् । सडक डिभिजन कार्यालयको मूल ढोकामै संघका अध्यक्ष बालगोपाल कंडेललगायतका निर्माण व्यवसायीले ताला लगाएका हुन्।
कर्मचारी र सेवाग्राहीहरु कार्यालय भित्रै थुनिएका थिए। संघले सडक डिभिजन हेटौंडाबाट सडक र पुल निर्माण वापतको २५ करोड बढी रुपैयाँ भुक्तानी नदिएको आरोप लगाएको छ ।
अध्यक्ष कंडेलले डिभिजनको कार्यक्षेत्रभित्र पुल निर्माण कार्य गरेको मात्रै १० करोड बढी भुक्तानी बाँकी रहेको बताए। डिभिजनले सपना÷साग कन्ट्रक्सनको १ करोड ३५ लाख, निरिक्षा निर्माण सेवा प्रालिको १ करोड,
मेरिना कन्ट्रक्सन कम्पनी प्रालिको १ करोड ४० लाख, डिएस कन्ट्रक्सन÷मोना जेभीको १ करोड ५० लाख, एलाइट÷मोना जेभीको १ करोड ५० लाख भुक्तानी नभएको उनले बताए ।
करोड भन्दा तल भुक्तानी लिन बाँकी निर्माण व्यवसायी धेरै रहेको र डिभिजनले पटक–पटक आग्रह गर्दा पनि भुक्तानी दिन आलटाल गरेकोले ताला लगाउन
बाध्य भएको कंडेलले बताए । प्रहरीले ताला खोलेर वार्तामा बस्न आग्रह गर्दा पनि निर्माण व्यवसायीहरु ताला खोल्न तयार भएनन्। संघले सडक
आन्दोलनमा जाने तयारी गरिरहेको उनको चेतावनी छ ।