काठमाडौं। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संघीय, प्रदेश र स्थानीय तीन तहका सरकारबीच समन्वय अभावको कारणले गर्दा विकास निर्माणले गति लिन नसकेको बताएकी छिन्।
बुधबार जनकपुरधाममा प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश मेडिकल स्टोर र कोभिड १९ विरुद्धको खोप भण्डारण गृहको शिलान्यास तथा प्रादेशिक भ्याक्सिन स्टोर भवनको उद्धघाटन कार्यक्रममा मन्त्री झाँक्रीले यस्तो धारणा राखेकी हुन्। तीनै तहका सरकारको नागरिक प्रतिको दायित्व उत्तिकै रहेको बताउँदै उनले संघीय सरकारले बजेट बनाउँदा विभिन्न शीर्षकमा गर्ने भएको हुँदा सबैको फरक–फरक भार हुने गरेको बताएकी छिन्।
देश र जनताको अवस्थामा सुधार ल्याउन सरकार र नागरिक पनि कर्तव्यनिष्ठ बन्न आवश्यक रहेको उनको भनाइ छ। जनकपुरधामको बस स्टेसन, महेन्द्र नारायण निधी स्मृति प्रतिष्ठानको भवनको सदुपयोग तथा क्षेत्रीय रंगशाला निर्माणका लागि आवश्यक पहलकदमी लिने उनले बताएकी हुन्।
यसैगरी प्रदेश २ सरकारसँग बजेट र काम गर्ने क्षमता रहे पनि संघीय सरकारको आवश्यक सहयोग नहुँदा काम गर्न कठिनाइ भएको मुख्यमन्त्री लालबाबु राउतलेगुनासो गरेका छन्। यसैगरी सोही कार्यक्रममा उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतोले जनकपुरधामको फोहोर व्यवस्थापन, तीर्थालुका लागि धर्मशाला, रंगभूमि मैदान, बसपार्क र राम जानकी रंगशाला सहितको निर्माणमा सहयोग गर्न मन्त्री झाँक्रीसँग आग्रह गरेका थिए।