काठमाडौं। सरकारले विभिन्न कारणले बन्द रहेका सरकारी उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको छ। निजी क्षेत्रको समेत सहकार्यमा त्यस्ता उद्योग सञ्चालनको तयारी भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घले बुधबार आयोजना गरेको ‘नवउत्थान सम्मेलन’को उद्धघाटनका अवसरमा उनले त्यसका लागि नीति निर्माणको काम भइरहेको बताएका छन्। निजी क्षेत्रसँगको सहकार्यमा बन्द उद्योग सञ्चालन गर्ने अन्तिम तयारी भइरहेको उनले जानकारी दिएका छन्।

सो कार्यक्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ पछिको अर्थतन्त्रलाई गति दिन आत्मनिर्भर हुन सक्ने वस्तुको उत्पादन र निर्यातमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन्। पछिल्लो समय अर्थतन्त्रमा चाप बढे पनि सङ्कटको स्थिति भने नरहेको चर्चा गर्दै अर्थमन्त्री शर्माले केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धले विदेशी मुद्राको सञ्चिति बढाएको र यसले आयात गर्न सक्ने क्षमता बढिरहेको जानकारी दिएका छन्। पछिल्लो समय विद्युत् बिक्री गर्ने चर्चा बढिरहेकामा आफूले त्यसलाई मोड्न चाहेको अर्थमन्त्रीको भनाइ थियो। उहाँले विद्युत् बिक्री गर्ने नभई खपत गर्नेतर्फ जोड दिनुपर्ने सुझाव दिएका छन् । त्यस्तै उनले विद्युत् खेर जाने तर उद्योगलाई नदिने नीति गलत भएकाले सरकारले यसलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
महासङ्घका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रमा तरलताको समस्या देखिन थालेको र अर्कोतिर सरकारले खर्च गर्न नसकेको परिस्थिति रहेको जनाएका छन्। तरलता अभावको दिगो समाधानका लागि निर्यात वृद्धि र आयात प्रतिस्थापन आवश्यक रहेको उनको भनाइ रहेको थियो। अति कम विकसित मुलुकबाट नेपालले स्तरोन्नतिका लागि गरेको प्रस्ताव स्वीकृत भएसँगै भविष्यमा भारततर्फको निर्भरता झन् बढ्ने उनले जानकारी दिएका छन्।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनका नेपालस्थित निर्देशक डा. रिचर्ड हावर्डले अति कम विकसित मुलुकबाट स्तरोन्नति भएपछि सामना गर्नुपर्ने नयाँ चुनौतीका लागि नेपालले तयारी गर्नुपर्ने सुझाव दिएका छन्। महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक र विदेशी दुवै लगानीकर्तालाई सहज हुने किसिमको लगानी नीति आवश्यक रहेको बताएका छन्।