नेपालगञ्ज। तीन अर्ब पचास करोड रुपियाँ लगानीमा पश्चिम नेपालमै पहिलो पटक कागज उद्योग स्थापना शुरु भएको छ। एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले बाँकेको राप्तीसोनारी गाउँपालिका २ महेन्द्रपुरमा एक्सीलेण्ट पेपर मिल कम्पनी लिमिटेडको नाममा सो उद्योग सञ्चालन गर्न लागेको हो।
एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्षले दुई वर्षभित्र उद्योग सञ्चालन गर्नेगरी निर्माणको काम शुरु गरिएको जानकारी दिएका छन्। त्यसका लागि २२ विगाहा जग्गा खरिद गरेर डीपीआरका लागि कन्सल्टेन्ट समेत नियुक्त गरिसकेको उनले जनाएका छन्। नेपालगञ्ज उपमहानगरपालिका– १८, मा रजिष्टर्ड कार्यालय स्थापना गरेर कम्पनीले उद्योग निर्माणको प्रक्रिया शुरु गरेको जनाइएको छ। कागज उद्योग हाल भारतीय कच्चा पदार्थमा निर्भर रहेकोले यस उद्योगले आफै कच्चा पदार्थ पनि उत्पादन गर्ने योजना रहेको जनाइएको छ।
एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्षले फोटोकपी पेपर, म्याफ्लिथो पेपरलगायत सबैखालका गुणस्तरीय कागज उत्पादन गरी नेपालको आयातलाई केही हदसम्म रोक्न सफल हुने दावी गरेका छन्। देशमा भएको एउटै कागज उद्योग भृकुटी कागज कारखाना बन्द भएपछि देश परनिर्भर बनेको उल्लेख गर्दै उनले सो उद्योग नेपालका लागि गौरबको उद्योग हुने बताएका छन्। सो उद्योगमा पहिलो चरणमा रिसाइकल प्लान्ट जडान गरिने भएको योजना छ। यसैगरी ५२ करोड प्रारम्भिक लगानीका लागि पहिलो पटकको सेयर निस्काशन भइसकेको जानकारी दिंदै अध्यक्षले दैनिक ५० टनको कटन मिक्स वेष्ट पेपरबाट रिसाइकल प्लान्ट स्थापना गरिने जानकारी दिएका छन्।
नेपालमा पेपर मिलहरु रहे पनि गुणस्तरमा प्रतिस्पर्धात्मक पेपर मिल नहुनु, पल्प तथा कागज उत्पादनमा ७५ प्रतिशत विदेशबाट आयात हुनु र मागअनुसारको क्वालिटी उत्पादन नहुने समस्या रहेको व्यवसायीहरुले जानकारी दिएका छन्। बाँकेमा ठूलो लगानीको कागज उद्योग स्थापना हुन लागेको भन्दै नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्षले यसबाट बाँके जिल्ला पश्चिम नेपालकै प्रमुख आर्थिक केन्द्र बन्ने जानकारी दिएका छन्। यसैगरी उनले नौबस्ता औद्योगिक क्षेत्रको निर्माण, सुख्खा बन्दरगाह निर्माण र ठूला सिमेन्ट तथा छड उद्योगलगायत कागज उद्योगको स्थापनाले बाँके आर्थिक राजधानी बन्ने विश्वास व्यक्त गरेका छन्।