काठमाडौं। चितवन को-ई समूह अन्तर्गतको मनकामना दर्शन प्रालिले मर्मत संभारका लागि आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द हुने भएको छ। यस समय अवधिभर केबलकार मर्मत संभारका र स्तरोन्नतीका लागि अष्ट्रियाली प्राविधिकले सुपरिवेक्षण गर्ने कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार केबलकारको सेवा आउँदो पुस ४(आइतबार) देखि ७ गते(बुधबार) सम्मका लागि बन्द हुनेछ। मर्मत संभार लगत्तै बिहीबार बाट नियमीत सेवा सुरु गर्ने कम्पनीले बताएको छ। कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो।
लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको हो। यही चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको छ।
यो सबै स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केबलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबलकार हुनेछ।