काठमाडौं। विराटनगर बसपार्क नजिक दुई तले भवन नभत्काइ उचालेर जग थपिएको छ। विराटनगर–११ मा काेशी राजमार्ग बनेपछि सडक भन्दा होचो भएको दुई तल्ले पक्की भवनको जग थपेर ३ फिट अग्लो बनाइएकाे हाे।
कोशी राजमार्ग निर्माणपछि घरको बेस सडकभन्दा तल परेको थियो। सडक भन्दा घरको बेस तल हुँदा वर्खाको समयमा बाढी पस्ने लगायतका समस्या हुँदै आएको थियो। तर अहिले आधुनिक प्रविधिको प्रयोग गरी चारैतर्फबाट घरलाई जुरुक्क उचालेर जगको भाग थपिएको हो।
यसरी घरको उचाइ बढाउँदा समय र खर्च बच्नुका साथै घरमा कुनै समस्या पनि नआउने भएपछि उक्त प्रविधिको प्रयोग गरेको बताइएको छ।
भारतको विहारस्थित सहर्सा जिल्लाको एलबिएल हाउस लेफ्टिङ कन्स्ट्रक्सनको टोलीले आरसिसी गरी बनेको दुईतले भवन उचालेर उचाइ बढाइ मर्मत गरिरहेको हो। फ्रेम स्ट्रक्चर भएको घरको बेसबिम बाट उचालेर जग थप्ने काम भइरहेको छ । अहिले उचालिएको घर चारैतर्फबाट फलामको जगमा अडाइएको छ ।