काठमाडौं। अमेरिकी अनुदान सहायता कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बोर्ड बैठकमा नेपालको बारेमा समीक्षा गरिएको छ। एमसीसी बोर्डको बुधबार बिहान बसेको बैठकमा हालसम्मको नेपालको प्रगतिबारे समीक्षा गरिएको हो।
बैठकमा एमसीसी–नेपाल कम्प्याक्टको हालसम्मको प्रगतिबारे छलफल भएको थियो। बैठकमा नेपालको समीक्षा गर्दै निकट भविष्यमा ५ सय मिलियन अमेरिकी डलर अनुदान सहयोगलाई अनुमोदन गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई ध्यानमा राखिएको बोर्ड बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपालले एमसीसीको पाँच वर्षे अनुदान कार्यक्रम स्वीकार गर्ने कि नगर्ने भनेर निर्णय गर्न ढिलाइ भइरहेका बेला नेपालले अनुदान स्वीकार गर्नेमा उता एमसीसी बोर्ड भने आशावादी भएको देखिएको छ।