काठमाडौं। नेपाल सरकार पूर्वाधार विकासको नीतिमा स्पष्ट हुन जरुरी रहेको सरोकारवालाहरूले बताएका छन्। बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) र पोलिसी इन्टरप्रेनर इन्क (पीईआइ) ले संयुक्त रूपमा आयोजना गरेको पूर्वाधार बहसको छैठौं संस्करणमा सरोकारवालाहरूले नेपालका नीति निर्माताहरूको पूर्वाधार क्षेत्रको विकासका लागि स्पष्ट नीति र त्यसको कार्यान्वयनको कमजोरीका कारण पूर्वाधार क्षेत्रमा विकास हुन नसकेको जनाएका हुन्।
यसैगरी एसियाली विकास बैंक (एडीबी) का पूर्व उपाध्यक्ष विन्दू लोहनीले नेपालले कुन क्षेत्रमा कस्तो प्रकारको सहायता लिने भन्ने विषयमा स्पष्ट हुनु जरुरी रहेको बताउँदै जिडिपीको आधारमा नेपालमा वैदेशिक लगानी जम्मा ३ प्रतिशत रहेको र सो दक्षिण एसियामा नै सवैभन्दा कम रहेको जानकारी दिएका छन्। आर्थिक–सामाजिक क्षेत्रको महत्वपूर्ण क्षेत्र पूर्वाधार नै रहेको भएपनि यसको विकासको लागि नेपालको नीति नै नरहेको पूर्वाधारविज्ञले स्पष्ट पारेका छन्।
पञ्चायतको समयमा राज्यप्रणालीमा पूर्वाधार विकासले आकार लिन लागेको भएपनि बहुदल आएपछि लथालिंग भएको उनले जनाएका छन्। नेपालसँग पूर्वााधारको नीतिगत स्पष्टता नभएको साथै योजना विनाका आयोजनाहरू टिपेर भौतिक विकास गरिरहेका छौं भन्ने सोचमा सरकार रमाइरहेको उनको भनाइ छ। यसैगरी पूर्वाधारको क्षेत्रमा नीतिगत स्पष्टता भएमा वित्तिय लगानीको लागि समस्या नहुने उनको दाबी रहेको छ।