काठमाडौं। दरौंदी नदिको विभिन्न क्षेत्रमा नदिजन्य पदार्थ उत्खनन नगराउन गोरखा नगरपालिका र पालुङटार नगरपालिकाका किसानले माग गरेका छन्। दुवै नगरपालिका कार्यालय सहित जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै किसानहरूले दरौंदी नदिमा भएको नदीजन्य पदार्थ उत्खनन्ले परम्परागत कुलो मासिने जोखिम बढेको बताएका छन्।
गोरखा नगरपालिका वडा नम्बर १० र ११ तथा पालुङटार वडा नम्बर ९ का किसानको मंसिर १८ गते बसेको बैठकले नदीजन्य पदार्थ उत्खनन रोक्नका लागि आग्रह गर्ने निर्णय गरेको थियो । कन्याढाप सिँचाइ समिति र झोलुङ्गे फाँट सुधार समितिको बैठकले छेवेटारको पक्की पुल आसपासदेखि ११ किलोस्थित झोलुङ्गे पुल क्षेत्रसम्म नदीजन्य सामग्री उत्खनन् रोक्न माग गरेको हो।
दुई नगरपालिका र सरकारी कार्यालयमा बुझाइएको पत्रमा झोलुङ्गे फाँट सुधार समितिका अध्यक्ष र कन्याढाप सिंचाई समितिका अध्यक्षसहित प्रभावित किसानहरूले हस्ताक्षर गरेका छन्। ठेक्कापट्टा गरेर नदिजन्य सामग्री झिक्दा खोला अत्यधिक गहिरो भएको र दुवैतर्फको कुलोमा पानी चलाउन नसकेपछि सो क्षेत्रका ७ शय परिवार प्रत्यक्ष मर्कामा परेको पत्रमा उल्लेख गरिएको छ। यसैगरी दरौंदी नदिमा हुने नदिजन्य सामग्रीको अब्यवस्थित उत्खनन्ले परम्परागत सिंचाई कुलो मासिने जोखिम बढेको भन्दै सो क्षेत्रका किसानले उत्खनन् रोक्न पटक पटक आग्रह गर्दै आएका छन्। दरौंदी किनारकै सुन्तले बोहोराबेसी कुलो उपभोक्ता समितिले पनि पर्याप्त अध्ययनबिनै दरौंदी नदिमा नदिजन्य सामग्री उत्खनन्को ठेक्का लगाउँदा किसानले वर्षौंदेखि प्रयोग गर्दै आएको कुलो मासिने जोखिम बढेको जानकारी दिदैँ आएको छ।
बेनीखोला नजिकैको कुलोको मुहानभन्दा नदि झन्डै ६ फिट गहिरो भएको किसानको गुनासो रहेको छ। प्रत्यक वर्ष हिउँदयाममा खेतमा सिंचाईका लागि कुलो चलाउने गरिएको भएपनि नदि गहिरो भएकाले किसानले झन्डै १ लाख रुपैयाँ संकलन गरी गत वर्ष कुलो मर्मत गरेका थिए।
किसानले गत वर्षको फागुन ९ गते दरौंदी नदिको बेनीखोला क्षेत्रमा नदीजन्य सामग्री उत्खनन रोकेका थिए। किसानलाई मर्का पर्ने गरी नदीजन्य सामग्री उत्खनन्को ठेक्का लगाउनुनै गलत भएको पीडित किसानहरूको भनाइ छ। सो क्षेत्रमा उत्खनन् नरोक्ने हो भने खेतबारीमा सिँचाइका लागि वैकल्पिक व्यवस्था हुनुपर्ने सुन्तले बोहोराबेसी फाँट र झोलुङ्गे फाँटका जग्गाधनी र किसानहरूको माग रहेको छ।