काठमाडौं। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटले वडास्तरबाट माग भएर आएका विभिन्न ३९ योजना कार्यान्वयन गर्नेगरी थप गरेको छ। १८ वटा वडा रहेको नगरपालिकामा १६ वडाबाट माग भएका थप ती योजनाहरु कार्यान्वयन गर्ने निर्णय भएको नगरप्रमुख छत्रराज पौडेलले जनकारी दिएका छन्।
नगरपालिकाको वडा नम्बर ३ र १८ बाट थप योजना माग नभएको जनाइएको छ। योजना माग भएर आएका वडाका लागि नगरपालिकाले थप दुई करोड ४५ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख पौडेलले जानकारी दिएका छन्। प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले वडा समितिको सिफारिस भएका योजना संचित कोषबाट रकम छुट्याइ योजना कार्यान्वयन गर्ने निर्णय गरेको बताएका छन्। बिनियोजित भएको बजेट योजना अधिकांश सडकमार्ग र पुनः कालोपत्रे गर्नका लागि रहेका छन्।
त्यसैगरी बैठकले नारायणी नदीले छोडेको खाली जमिनको संरक्षण गर्नका लागि नापनक्सांकनको काम गर्ने निर्णय पनि गरेको छ। नदीले धार परिवर्तन गर्दा गैँडाकोटतर्फ खाली छोडेको जग्गाको नापनक्सांकन गर्दै संरक्षण गर्ने काम गर्न लागिएको नगरप्रमुख पौडेलले जानकारी दिएका छन्। यसैगरी सो नदीले छोडेको जमिनलाई नाप नक्सा तथा संरक्षणका लागि संघीय सरकारको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय एवं विभागमा पत्राचार गर्ने तयारी गरिएको उनले बताएका छन्।