काठमाडौं। २०१६ सालमा भएको आमनिर्वाचनमा नेपाली कांग्रेसको विजय भए पछि राजा महेन्द्र शुरुमा सरकार सुम्पन तयार नै भएनन् । तर पछि बिपीलाई प्रधानमन्त्री बनाएर देशमा प्रजातान्त्रिक सरकार बनाउन तयार भए। यसपछि देशको शासनबाट पूर्णरुपमा मुक्त भएर सरकार प्रमुखलाई जिम्मेवारीहरु सुम्पेर २०१६ चैत २८ गते राजा महेन्द्र रानी रत्नका साथ ११० दिन लामो विश्व भ्रमणमा निस्किएका थिए।
चैत २८ मा हङकङ, बैशाख ६ गते टोक्यो, बैशाख १३ गते होनोलुलु, बैशाख १४ गते पर्ल हार्वर, बैशाख १५ गते वासिङ्टन, बैशाख १८ गते न्यू योर्क, बैशाख २३ गते लस एन्जेल्स, जेठ ३ गते मेक्सिको सिटी, जेठ १४ गते ओटावा तथा फर्किएर पून अमेरिका नै भ्रमण गरेर पोर्चुगल हुँदै साउन १३ गते काठमाडौ आइपुगेका थिए ।
बैशाख १३ गते होनोलुलु विमानस्थलमा आइपुग्नु हुँदा हवाइ राज्यका डेपुटी गवर्नर जेम्स किलोहाले स्वागत गरेका थिए । चीनिया बाबु तथा हवाइकै स्थानीय आमाबाट जन्मिएका जेम्स किलोहाले आफ्नो नामको पछाडि थर भने मामा घरको राखेका थिए। उनको चीनिया नाम भने लि यात वो थियो । सन १९५९ मा हवाइ अमेरिकाको ५०औ राज्यका रुपमा घोषणा भए पछि जेम्स किलोहा डेपुटी गवर्नरका रुपमा नियुक्त भएका थिए । सो समय गवर्नरका रुपमा भने विलियम क्विन विजयी भएका थिए ।
राजा महेन्द्र बैशाख १३ गते होनोलुलु भ्रमण पश्चात दोश्रो विश्व युद्धको निकै चर्चित स्थल पर्ल हार्वर पुगेका थिए । पर्ल हार्वरमा दोश्रो विश्व युद्धको समय जापानले आक्रमण गर्दा करिव २४०० अमेरिकीहरुको निधन भएको थियो ।
पर्ल हार्वर पुग्दा त्यहाँ रहेका अमेरिकी सैनिकहरुले २१ तोपको सलामी दिएका थिए । पर्ल हार्वरबाट बैशाख १५ गते राजा तथा रानी राष्ट्रपतिको नीजि विमानबाट वाशिङ्टन पुगेका थिए । जहाँ राष्ट्रपति आइजन हावरले स्वागत गरेका थिए। सुनिल उलकको फेसबुकबाट