काठमाडौं। दुबई सरकार विश्वकै पहिलो कागजरहित सरकार बनेको छ। दुबईका राजकुमार शेख हमदान बिन मोहम्मद बिन रसिद अल मक्तुमले दुबई विश्वकै पहिलो पेपरलेस सरकार बनेको घोषणा गरेका हुन्।
उनले ३५ करोड अमेरिकी डलर बचत गर्दै दुबई सरकार पूर्णरुपमा कागजरहित भएको घोषणा गरेका हुन्। अब दुबई सरकार अन्तर्गतका कुनै पनि कामका लागि कागज प्रयोग गर्नुनपर्ने उनले उल्लेख गरेका छन्।
दुबई सरकारको सबै प्रकारको आन्तरिक, बाह्य कारोबारलगायत अन्य प्रक्रियागत काम सबै डिजिटल भएका छन्, जसको व्यवस्थापन दुबई सरकारकै डिजिटल प्लेटफर्मले गरिरहेको उनले जानकारी दिए ।
योसँगै दुबईले आफ्नो डिजिटल यात्राको नयाँ सुरुवात गरेको र यो यात्रामा भविष्यलाई लक्षित गर्दै नयाँ अन्वेषणहरू गरिने उनले बताएका छन् ।
चार वर्षपहिले यूएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मुक्तमले सन् २०२१ पछाडि दुबई सरकारको कर्मचारी र सेवाग्राही कसैले पनि कुनै डकुमेन्ट प्रिन्ट गर्न वा अन्य प्रयोजनका लागि प्रयोग गर्न नपर्ने स्थिति सिर्जना गर्ने बताएका थिए ।