फाइल तस्बिर
काठमाडौं। नेपालमा पेट्रोलबाट सञ्चालन भइरहेका कारमा हाइड्रोजन फ्यूल ट्याङ्क थपेर हाइब्रिडमा रूपान्तरण गर्न सकिने भएको छ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्राविधिक सहयोगमा रिन्युजेन रिसोर्स नेपालले पेट्रोलबाट सञ्चालन भइरहेका कारमा हाइड्रोजन फ्यूल ट्याङ्क थपेर हाइब्रिडमा रूपान्तरण गरी चलाउन सकिने प्रविधिको परीक्षण सफल भएको हो।
अहिले हाइड्रोजनको पर्याप्त उत्पादन गर्न नसकिएकै अवस्थामा पनि गाडीमा हाइड्रोजन फ्यूल सकिनासाथ गाडी आफैं पेट्रोलबाट चल्न थाल्ने रिन्युजेन रिसोर्स नेपालले जनाएको छ।
तत्काल नयाँ हाइड्रोजन फ्यूल सेल जडान भएका हाइड्रोजन गाडी ल्याउन महँगो पर्ने हुँदा आफूले चलाइरहेकै गाडीलाई हाइड्रोजनबाट पनि चल्न सक्ने बनाउन पनि सकिने बताइएको छ।
यसमा अध्ययनरत संस्था रिन्युजेन र पुल्चोक क्याम्पसले अब ठूला बस तथा ट्रकमा पनि यस्तो प्रविधिको परीक्षण गर्ने योजना रहेको रिन्युजेन रिसोर्स नेपालले जनाएको छ।