पर्सा। वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमा विद्युतीय भुक्तानी प्रणाली शुरु भएको छ। भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बिहीबार विद्युतीय भुक्तानी प्रणालीको उद्घाटन गरेका हुन्।
बन्दरगाहको भन्सार कार्यालयका अनुसार भन्सार विभागले नेपाल राष्ट्र बैंकको राष्ट्रिय भुक्तानी स्विचको सञ्चालनकर्ता नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग समन्वय गरी भन्सारको आशिकुडा प्रणालीसँग ‘पेमेन्ट इन्स्ट्रुमेन्ट’ को सम्पर्क स्थापित गर्ने गरी प्रणाली विकास गरिएको छ ।
प्रयोगकर्ताहरूले आफूलाई उपयुक्त कुनै भुक्तानीका उपकरणहरूमा आबद्ध भई आफ्नो बैंक खाताबाट भन्सार कार्यालयमा रहेको बैंकस्थित भन्सार कोष खातामा भुक्तानी गर्न सक्नेछन्। यसरी भुक्तानी गर्न एनसीएचएलको कनेक्ट आईपीएस, मोबाइल एप, कर्पोरेट पे, एनसीएचएल बैंक सेन्ट्रल तथा एनसीएचएलसँग आबद्ध रहेका डिजिटल वालेटहरू प्रयोग गर्न सकिने साथै वाणिज्य बैंकहरूले प्रदान गर्ने इ–बैंकिङसमेत प्रयोग गरी भुक्तानी गर्न सकिने बताइएको छ।
प्रयोगकर्ताहरूले रियल टाइम ट्रान्जिक्सन–कनेक्ट आईपीएस–रिटेल पेमेन्ट स्विचमार्फत प्रतिकारोबार २० लाख रुपैयाँसम्म र नन रियल टाइम ट्रान्जिक्सन एनसिएचएल आईपीएसमार्फत ३० करोड रुपैयाँसम्म एउटै प्रज्ञापनपत्रको राजस्व भुक्तानी गर्न सकिने बताइएको छ।