दार्चुला। पटक पटक म्याद थप्दा पनि दार्चुला सदरमुकाम खलङ्गा क्षेत्रको तटबन्ध निर्माणको काम अझै अधुरो छ। विसं २०७० को बाढीपछि निर्माण सुरु भएको तटबन्ध निर्माणको काम अझै नसकिएको हो।
लेकम गाउँपालिकाको लालीदेखि व्यास गाउँपालिकाको छाङ्गरुसम्मको उक्त आयोजनाको अन्य क्षेत्रमा काम भए पनि सदरमुकामको दुई वटा प्याकेजमा भने काम अझै बाँकी छ।
सदरमुकाम खलङ्गा क्षेत्रको प्याकेज नं १८ र १९ मा अझै काम हुन नसकेको हो। चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म निर्माण कार्य सुस्त छ। गत वर्ष नै ठेक्का लागेका यी दुवै ठाउँमा भर्खरै आगामी चैत ३० गतेसम्मलाई म्याद थप गरिएको छ।
प्याकेज नं १८ रहेको सदरमुकाम पुलघाटमा २२ प्रतिशत र प्याकेज नं १९ रहेको श्रीवड क्षेत्रमा चार प्रतिशत मात्रै प्रगति देखिएको छ। प्याकेज नं १८ मा गतवर्ष नौ करोड ४५ लाख ४८ हजार तथा प्याकेज नं १९ मा रु ११ करोड ५५ लाख ४४ हजारको लागतमा निर्माण गर्ने गरी राजेन्द्र निर्माण सेवा प्रालिको बोलपत्र स्विकृत भएको थियो।
गत वर्ष नै ठेक्का लागेका प्याकेज नं १६, १७ मा काम सम्पन्न भए पनि १८ र १९ मा समयमै काम नहुँदा प्रगति नदेखिएको हो। यी दुवै प्याकेजका निर्माण व्यवसायी भीमबहादुर साउद हुन्।