काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले विकास बजेटको १० प्रतिशत पनि खर्च गर्न नसक्दा त्यसको प्रभाव हरेक क्षेत्रमा परेको जानकारी दिएका छन्। रामेछाप उद्योग वाणिज्य सङ्घको १३औँ वार्षिक साधारण सभाको शनिबार मन्थलीमा उद्धघाटन गर्दै अध्यक्ष ढकालले बिकास बजेट खर्च गर्न नसक्दा अन्य क्षेत्रमा प्रभाव परेको बताएका हुन्।
हाल तरलताको अभावले बैङ्कहरू लगानी गर्नसक्ने अवस्थामा नरहेकोले निजी क्षेत्रलाई उत्पादनको क्षेत्रमा लगानी गर्ने वातावरण बनाउन राज्यले उचित ऐन कानुन बनाउनुपर्ने उनको भनाइ छ। लगानीमैत्री वातावरण बने निजी क्षेत्र लगानी गर्न तयार रहेको बताउँदै उनले रामेछापमा रहेको ठोसे फलाम खानी सञ्चालनमा नेपाली उद्योगी तयार रहेको र यसका लागि आवश्यक वातावरण बनाइदिन आग्रह पनि गरेका छन्।
त्यसैगरी रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष केशव घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुखले कृषि र स्थानीय उत्पादनमा आधारित साना उद्योगको क्षेत्रमा लगानी नगर्ने हो भने नेपालको आर्थिक विकास हुन नसक्ने जानकारी दिएका छन्।