सुर्खेत । कर्णाली प्रदेशमा पहिलो बीउ उद्योग स्थापना भएको छ । शितल एग्रो विजनेश प्रालिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा बीउ बिजन उद्योग स्थापना गरेको हो ।
३० लाखको लगानीमा शुरु भएको उद्योगले आफ्ना उत्पादन बजारमा समेत पठाउन शुरु समेत गरिसकेको छ । उद्योगलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब ३ करोड रुपैयाँ लागत लाग्ने बताइएको छ । उक्त रकम मुक्तिनाथ विकास बैंकले ४ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने छ ।
उद्योगले विभिन्न कृषि वस्तुका बीउ संकलन गरेर कर्णालीका कृषि समूह, सहकारी र किसानलाई उपलब्ध गराउने छ । उद्योगमार्फत आन्तरिक मागलाई सम्बोधन गर्दै मुख्य लक्ष्य गुणस्तरीय बीउ बिजन विदेश निर्यात गर्नु रहेको शितल एग्रो विजनेश प्रालिका अध्यक्ष सूर्यनाथ योगीले बताए ।