काठमाडौं। छिमेकी देश भारतले अबको एक दशकमा २२ हजार मेगावाट भन्दा बढी परमाणु ऊर्जा उत्पादन गर्ने भएको छ। भारतले सन् २०३१ सम्ममा अहिलेको ६ हजार ७ सय ८० मेगावाट क्षमतालाई बृद्धि गरेर २२ हजार ४ सय ८० मेगावाट पुर्याउने भएको हो।
कार्बन उत्सर्जनलाई शून्यमा झार्ने महत्त्वकांक्षी लक्ष्य पूरा गर्न नवीकरणीय ऊर्जा सँगसँगै परमाणु ऊर्जा उत्पादनमा पनि लगानी बढाउँदै लगेको त्यहाँका अन्तरिक्ष तथा आणविक ऊर्जा विभाग मन्त्री जितेन्द्र सिंहको भनाइ उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। उनले अहिले भारतको आणविक ऊर्जाबाट उत्पादित ६ हजार ७ सय ८० मेगावाट विद्युत प्रसारण प्रणालीमा रहेको र यो कूल जडित क्षमताको ३.१ प्रतिशत रहेको बताए।
हाल निर्माणाधीन, प्रस्तावित तथा भविश्यमा थपिने परमाणु ऊर्जाका आयोजनाबाट लक्षित योजना पूरा गरिने छ। मन्त्री सिंहले परमाणु ऊर्जाका १० वटा आणविक भट्टी निर्माणका लागि प्रशासनिक तथा आर्थिक स्वीकृति दिइसकेको जानकारी दिए।
स्वीकृत भइसकेका १० आणविक भट्टीबाट उत्पादन हुने विद्युतको जडित क्षमता ७ हजार मेगावाट रहेको छ। यी १० सहित योजनामा रहेका सबै आणविक ऊर्जा उत्पादनका आयोजना सन् ३०३१ भित्र सम्पन्न गर्ने उद्धेश्य रहेको छ।
सौर्य र वायु ऊर्जा प्रविधिबाट उत्पादन भएको विद्युत वितरण प्रणालीलाई परमाणु ऊर्जाले स्थायित्व दिने भारतको दाबी छ। सौर्य र वायु ऊर्जा प्रविधिबाट जडित क्षमताअनुसारको विद्युत उत्पादन नहुँदा खपत बढाउन पनि भारत परमाणु ऊर्जाको विकल्पमा गएको हो।