काठमाडौं। खानेपानी मन्त्री प्रदीप यादव र सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यबीच खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य हासिल गर्ने प्रतिबद्धतासहितको आर्थिक वर्ष २०८१/८२ का लागि कार्यसम्पादन करार सम्झौता भएको छ।
बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री यादव र सचिवबीच सम्झौता भएको हो।
कार्यसम्पादन करार सम्झौतामा सबैलाई पर्याप्त, गुणस्तरीय र भरपर्दो रूपमा खानेपानीको आपूर्ति व्यवस्था गर्न, ह्रास हुँदै गएका सतहगत र भूमिगत खानेपानीका स्रोतको जगेर्ना गर्न, खानेपानी तथा सरसफाइका संरचनालाई जलवायु परिवर्तन अनुकूल तथा विपद् व्यवस्थापनमैत्री बनाउँदै लैजान, अव्यवस्थित सहरीकरणका कारण खानेपानी तथा सरसफाइको सेवामा परेको चापलाई व्यवस्थित गर्ने उल्लेख गरिएको छ।
यसैगरी परिवर्तित संस्थागत संरचनाका सन्दर्भमा खानेपानी तथा सरसफाइ क्षेत्रको व्यवस्थित विकासका लागि सरकारका तीनवटै तहमा क्षमता अभिवृद्धि गर्न, सहर तथा बस्तीमा उपयुक्त आर्थिक तथा प्राविधिक उपायद्वारा मानव सिर्जित मलमूत्रलगायत औद्योगिक र कृषिजन्य फोहर पानीको सङ्कलन, प्रशोधन गरी उचित व्यवस्थापन गर्दै दिगो विकासको क्षेत्रगत लक्ष्य प्राप्त गरी विसं २१०० सम्म सबैलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाइएको छ ।