काठमाडौं। चीनमा कुनै बेला ठूलो घरजग्गा कम्पनी मानिने चाइना फोर्ट्यून ल्यान्ड डेभलप्मन्टले आफ्नो प्रबन्धक संस्था ३१ करोड ३० लाख डलरसहित सम्पर्कविहीन भएको बताएको छ।
उक्त कम्पनीका अनुसार ब्रिटिश भर्जिन आइल्यान्ड्समा दर्ता भएको चाइना क्रीएट क्यापिटल नामक संस्थाले त्यति रकम उसका लागि लगानी गरिदिनुपर्ने थियो। फोर्ट्यून ल्यान्डले आफ्ना लगानीकर्तालाई सोहि विषयबारे बेइजिङ प्रहरीमा उजुरी दिइएको जानकारी दिएको छ।
अर्बौँ डलर बराबरको ऋणपत्र समयमा भुक्तानी गर्न नसकेपछि सो कम्पनीले यही महिना कर्जा पुनर्संरचना योजना सार्वजनिक गरेको थियो। यो साता शाङ्घाई स्टक एक्सचेन्जमा पेस गरिएको एउटा दस्तावेजका अनुसार सन् २०१८ मा फोर्ट्यून ल्यान्डको वैदेशिक कारोबार हेर्ने एउटा एकाइले विङ्स्केङ्गो लिमिटेड नामक कम्पनीलाई लगानी प्रबन्ध गर्ने सेवा प्रदान गर्न बोलाएको थियो।
उक्त दस्तावेजमा कसरी विङ्स्केङ्गोको सल्लाहअनुसार फोर्ट्यून ल्यान्डले ३१.३ करोड डलर चाइना क्रीएट क्यापिटललाई रकमान्तर गरिदिएको थियो भन्ने विस्तृत रूपमा खुलाइएको छ।
फोर्ट्यून ल्यान्डका अनुसार सन् २०२२ को अन्त्यसम्म सहमति कायम रहँदासम्म सो लगानीबाट वार्षिक सातदेखि १० प्रतिशत ब्याज आउने अपेक्षा थियो।
तर अहिले क्रीएट क्यापिटलसँग आफूले सम्पर्क गर्न नसकेको फोर्ट्यून ल्यान्डले बताएको छ। ऋण सङ्कटका कारण अरू ठूला चिनियाँ घरजग्गा कम्पनीको जस्तै केही महिनायता फोर्ट्यून ल्यान्डको शेअर मूल्य पनि निकै्र घटेको छ।
यद्यपि ऋणदाताको एउटा समूहले आफ्नो कर्जा पुनर्संरचना योजनालाई मान्यता दिएको फोर्ट्यून ल्यान्डले यही महिनाको आरम्भमा बताएको थियो। उक्त सम्झौताले ऋणमा चुर्लुम्मै डुबेको उक्त कम्पनीलाई ठूलो राहत दिएको छ।