काठमाडौं । बाढी पहिरोका कारण काठमाडौंका केही स्थानमा अवरुद्ध भएको खानेपानी आपूर्ति आजबाट नियमित वितरण गरिने भएको छ। बागमती नदीबाट चार करोड लिटर पानी ल्याएर काठमाडौंमा नियमित वितरण गरिने भएको हो।
बाढीका कारण भूमिगत पानीका धेरै पम्पहाउस डुबानमा परेको छ। डुबानमा नपरेका भूमिगत स्रोतको एक करोड लिटर पानी मात्रै हाल वितरण गर्न सकिने अवस्था रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ।
ललितपुरको स्रोतमा फर्पिङ जलविद्युत्गृहबाट फर्पिङ पम्पिङ स्टेसनमा ल्याएको पेनस्टक पाइप फुटेको हुँदा फर्पिङमा पानीको आपूर्ति अवरुद्ध भएको छ।
खानेपानीमन्त्री प्रदीप यादवले क्षति पुर्याएका ठाउँमा आइतबार अनुगमन तथा निरीक्षण गरी क्षति भएको स्थानमा मर्मत गरी खानेपानी आपूर्ति नियमित गर्न निर्देशन दिएका थिए।