काठमाडौं। मेलम्चीको पानी आज काठमाडौंको सुन्दरीजल पठाइने भएको छ। सोमबार सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिबीच सहमति भएपछि आजबाट पानी पठाइने भएको हो।
आन्दोलनरत मेलम्चीका संघर्ष समितिसँग वार्ता गर्न खानेपानी मन्त्री प्रदीप यादव सहितको टोली सोमबार मेलम्ची पुगेको थियो।
हेलम्बु गाउँपालिकाको मेलम्चीमा भएको वार्तामा संघर्ष समितिका जायज मागहरु सम्बोधन गर्ने सहमति भएको बताइएको छ।
वार्तामा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिक्री गरेको मेलम्चीको पानीबाट प्राप्त हुने रकमको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने मागमा मन्त्रलाय र सरोकारवाला निकायहरुबीच छलफल गरी तीन महिनाभित्र टुङग्याउने सहमति भएको छ । साथै हेलम्बु मेलम्ची एकिकृत जलाधार तथा क्षेत्र विकास परियोजना गठनको प्रस्ताव यथाशिघ्र मन्त्रिपरिषदमा प्रस्ताव पेश गरी कार्यन्वयनमा खानेपानी मन्त्रालयले पहल गर्ने सहमति भएको छ।