काठमाडौं। दक्षिणकाली नगरपालिकाको कुटुरी मुहानबाट ललितपुरको भैँसेपाटीस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को खानेपानी भण्डारण केन्द्रमा पानी आपूर्ति गर्न थालिएको छ। खानेपानीमन्त्री प्रदीप यादव, प्रतिनिधि सभा सदस्य तोसिमा कार्की, ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनको अनुरोधमा पानी आपूर्ति सुरु गरिएको हो।
मन्त्री यादव र महानगरप्रमुख महर्जन पानी आपूर्तिका लागि शनिबार दक्षिणकाली नगरपालिका पुगेका थिए।बाढीपहिरोले पानीका मुहान बन्द भएपछि चाडपर्वका समयमा पानीको अभाव भएको भन्दै उनीहरुले पानी आपूर्तिका लागि अनुरोध गरेका थिए।
उनीहरु र दक्षिणकाली नगरपालिकाबीच मौखिक सहमति भएपछि पानी पठाउन सुरु भएको बताइएको छ।