काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीवासीले आन्दोलन गर्नुपर्ने स्थिति आउन नदिने बताएका छन्। मंगलबार मेलम्चीबाट काठमाडौँ पथान्तरण गरिएको सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट उपत्यकामा वितरण गर्दै मन्त्री यादवले यस्तो भनेका हुन्।
मन्त्री यादवसँग मेलम्चीबासीले तीन महिनाभित्र मागहरू सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको स्मरण गर्दै यस्तो अवस्था आउन नदिने बताएका छन्। उनले स्थानीयहरूको माग दशैंपछि सिंहदरबारमा बोलाइ संवादबाट पूरा गर्न सरकार तयार रहेको बताए।
मन्त्री यादवले काठमाडौँ उपत्यकामा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् ।
उनले वर्षातका कारण खानेपानीमा पुग्ने क्षतिलाई मध्यनजर गरेर पानी वितरणमा रोक लगाइए पनि अब उपत्यकावासीका घरघरमा मेलम्चीको पानी आएको बताए। सोमबार मन्त्री यादव र स्थानीयबीचको वार्ताबाट मेलम्चीको पानी सुन्दरीजल पठाइएको थियो।