काठमाडौं। पाँचथर जिल्लाको फिदिम नगरपालिकाका मेयर र उपमेयरको घरमा खानेपानीको धारा काटिएको छ। फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिले मेयर मित्रप्रसाद काफ्ले र उपमेयर राधाकृष्ण न्यौपानेकाे घरको खानेपानीको धारा काटेको हो।
नगरपालिकाले समितिलाई आवश्यक पर्ने बजेट उपलव्ध नगराएको भन्दै उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङ नेतृत्वको टोलीले मंगलबार बिहान धाराको पाइप काटेको हो।
समितिले केही दिन अघि फिदिम नगरपालिकाको समेत खानेपानीको धारामा पानी बन्द गरेको थियो।
असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षासँगै आएको पहिरोले ठाउँ ठाउँमा खानेपानीका पाइपलाइन बगाएर क्षति पुर्याउँदा बैकल्पिक मुहानको खोजी गरेर सदरमुकाममा पानी ल्याएपनि नगरपालिकाबाट पर्याप्त सहयोग नपाएको समितिको भनाइ छ।