काठमाडौं। कर्णाली प्रदेशमा २२४ योजनाको ठेक्का सम्झौता भएको छ। चालु आर्थिक वर्षबाट स्रोत सुनिश्चितता गरेर बहुवर्षीय योजनाका रूपमा २२४ योजनाको ठेक्का सम्झौता गरिएको हो।
यो वर्ष कर्णाली प्रदेश सरकारका ३५० योजनाको स्रोत सुनिश्चितता भएर ठेक्का सम्झौता हुने छन् । हालसम्म २२४ योजनाको ठेक्का सम्झौता गरिएको छ भने १२६ योजना ठेक्का सम्झौता प्रक्रियाको चरणमा रहेको बताइएको छ।
कर्णाली प्रदेश सरकारले पुँजीगत खर्च बढाउन नयाँ नीति अवलम्बन गरेको छ । सोही नीति अनुरूप अहिले नयाँ योजनाको धमाधम ठेक्का सम्झौता भइरहेको छ। साउन मसान्तभित्र कार्ययोजना स्वीकृत गरिसक्नुपर्ने, पहिलो त्रैमासिकभित्रै कार्यविधि, मापदण्ड र निर्देशिका तर्जुमा निर्माण गर्नुपर्ने नीति सरकारको छ ।