सर्लाही। पोखरीमा कार डुब्दा दुईजना बेपत्ता भएका छन्। सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा डुब्दा दुईजना बेपत्ता भएका हुन्।
सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुबेको प्रहरीले जनाएको छ।
कारमा गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला–२ का अन्दाजी ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएका प्रहरीले जनाएको छ। बेपत्ता भएका दुईजनाको खोजी कार्य जारी रहेको बताइएको छ।