हेटौँडा। बागमती प्रदेश सरकारले सूचना प्रविधिको विकासका लागि ‘डिजिटल बागमती’ अवधारणा ल्याएको छ।
इन्टरनेटको विस्तार, सूचना प्रविधिमा भएको विकास तथा नागरिकमा आएको सचेतना एकातिर रहने तर सरकारी काम कारबाही भने पुरानै प्रवृत्तिमा चल्ने अवस्थामा सुधारका लागि प्रदेश सरकारले यस्तो अवधारणा ल्याएको हो।
सङ्घीय राजधानी समेत यसै प्रदेशमा रहेकाले नागरिकले सहज रुपमा सेवा पाउने वातावरण बनाउनु महत्वपूर्ण रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रुद्रसिंह तामाङले बताए।
सञ्चार रजिष्ट्रारको कार्यालयले आयोजना गरेको ‘सूचना तथा सञ्चार प्रविधिको प्रवर्द्धन बागमती प्रदेशको भूमिका सरोकारवालासँगको छलफलमा’ सचिव तामाङले प्रदेशवासीलाई सहज सेवा प्रदान गर्ने उद्देश्यका साथ आफूहरुले तयारी गरिरहेको बताए।
उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनाका साथ मन्त्रालयले योजना तयार पार्ने र त्यसलाई चरणबद्ध रुपमा लागू गरेर नागरिकलाई सहज सेवा प्रदान गर्ने विश्वास दिलाए। प्रविधिको प्रयोग, विस्तार तथा लगानीका सन्दर्भमा संविधानमा सङ्घीय सरकार र प्रदेश सरकारको कार्यक्षेत्रका बारेमा स्पष्ट व्यवस्था नभए पनि प्रयास भने गर्नुपर्ने उनले आवश्यकता औँल्याए।