काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको अनुगमन गरेका छन्। मंगलबार मन्त्री यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा बोल्दै मन्त्री यादवले मेलम्चीको पानी वर्षमा आठ महिना मात्र काठमाडौँ आउने भएका कारण समस्या भइरहेको बताए। उनले उपत्यकामा २४ सै घण्टा पानी उपलब्ध गराउनको लागि सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको र त्यसको लागि टेन्डर आह्वान भइसकेको समेत जानकारी दिएका छन्।
मन्त्री यादवले भने, ‘अहिले हामीले मेलम्चीको पानी वर्षमा ८ महिना मात्र वितरण गरिरहेका छौँ । वर्षामा चार महिना वितरण नहुँदा समस्या छ । त्यसका लागि हामीले १२ महिनाको २४ सै घण्टा पानी दिनको लागि हामीले सुन्दरीजलमा नयाँ टेण्डर प्लान थपिरहेका छौँ । त्यसको क्षमता २५ करोड ५० लाख लिटर क्षमता छ । त्यो निर्माण भइसकेपछि काठमाडौँवासीको सपना पूरा हुन्छ, उपत्यकाको पानीको समस्या समाधान हुन्छ ।’