काठमाडौं। महाकाली लोकमार्ग ६ दिनपछि सञ्चालनमा आएको छ। महाकाली लोकमार्गको खलंगा–गोकुलेश्वर सडकअन्तर्गत किम्तडीस्थित ठड्याकाठा भीरमा चट्टान फुटाएर सडक चौडा पार्ने काम सकिएसँगै शनिबार साँझदेखि लोकमार्ग सञ्चालनमा आएको हो।
दिनरात कटिङ् गरेर छैटौं दिन उक्त क्षेत्रमा सानारठूला गाडी पास हुने गरी सडक सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। दार्चुला सदरमुकाम खलंगा नजिकै रहेको महाकाली नगरपालिका–५ किम्तडीस्थित ठड्याकाठा भीरमा सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती खेपिरहेका थिए । सडक कटानका क्रममा खसेको पहिरो पन्छ्याएर शनिबारदेखि आवतजावत खुल्ला गरिएको हो ।
सडक विस्तार कार्य पूरा नभएकाले आंशिक रुपमा भने सडक अवरुद्ध नै रहने बताइएको छ।