एजेन्सी। अमेरिकाको लस एन्जलसमा फैलिएको डढेलोबाट १ हजार १ सय बढी घर जलेका छन् । क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्रमा पर्ने प्यासिफिक प्यालिसेड्स भन्ने स्थानबाट मंगलबार बिहानदेखि फैलिएको डढेलोबाट एक हजार एक सयभन्दा बढी घर जलेका हुन्।
डढेलोबाट हालसम्म पाँच जनाको मृत्यु भएको छ। डढेलो लागेको क्षेत्रमा अवलोकनका लागि पुगेका क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले डढेलोबाट कोही सुरक्षित नभएको भन्दै आपतकाल घोषणा गरेका छन्।
अहिले ९७ किलोमिटर प्रतिघण्टामा चलेको हावाको वेगसँगै आगोले हरेक पाँच मिनेटमा पाँच वटा ठूला फुटबल मैदानजत्रा क्षेत्र सखाप बनाइरहेको बताइएको छ। तर १६० किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्ने सम्भावना रहेकाले अवस्था अझै खतरनाक हुने चेतावनी समेत दिइएको छ ।
डढेलोले दशौं हजार व्यक्ति प्रभावित भएका छन् । लसएन्जलस टाइम्सले ३० हजारभन्दा बढी व्यक्ति विस्थापित भइसकेको जनाएको छ । सो क्षेत्रका २८ हजार भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको छ । विद्यालयहरु पनि बन्द छन् ।