काठमाडौं। झापाको बुद्ध शान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्ने झोलुंगे पुल निर्माण कार्य सम्पन्न भएको छ। कोशी प्रदेशको सबैभन्दा लामो र देशकै तेस्रो लामो झोलुङ्गे पुल निर्माणको काम सम्पन्न भएको हो।
निर्धारित समयभन्दा अगाडी नै निर्माण सम्पन्न भएको पुलको बिहीबार नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। पुल निर्माणका लागि गत असार २४ गते शर्माले नै शिालान्यास गरेका थिए। २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी २०८१ जेठ २४ गते ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपियाँ ३५ पैसामा थानी जगदम्बा जेभी काठमाडौंसँग सम्झौता भएको थियो। निर्माण सम्पन्न गर्नुपर्ने समयअवधिको डेढ वर्ष अगाडि नै काम पूरा भएको हो।
सङ्घीय सरकारबाट समयमै पैसा निकासा, स्थानीय तहको सजगता, टेन्डर प्राप्त व्यवसायीको इमानदारी अनि मेहनती श्रमिकहरूको रातदिनको खटाइका कारण निर्धारित समयभन्दा धेरै अगावै योजना सम्पन्न भएको महामन्त्री शर्माले बताए।