काठमाडौं। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किवासमा पुल भाँचिएको छ। अत्यधिक भारसहितको मालवाहक लरीका कारण शुक्रबार साँझ साढे ५ बजेतिर विनयी खोलामा रहेको पुल भाँचिएको हो।
डाइभर्सन सडक निर्माण नगरेसम्म राजमार्गको यातायात ठप्प भएको छ । यातायात सञ्चालनका लागि डाईभर्सन निर्माण गर्ने उपयुक्त ठाउँको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ।
पुल भाँचिएर यातायात अवरुद्ध बनेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दुम्कीवासको यातायात तुरुन्तै सुचारु गराउन सडक विभागलाई निर्देशन दिएका छन् ।
यस्तै बढिभार भएका सवारी साधनको चेकजाँच कडा बनाउनु पनि मन्त्री दाहालको भनाइ छ । उक्त स्थानमा अस्थायी व्यवस्था गरेर भएपनि सडक खुलाउन उनले निर्देशन दिए ।
मन्त्री दाहालले प्रहरी तथा अन्य निकायहरूसँग समेत समन्वय गरी सवारी साधन रोकिने अवस्था आउन नदिन विभागलाई निर्देशन दिएका हुन् ।