काठमाडौं। राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु आगामी माघ ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ। यसअघि माघ ८ गतेलाई तय भएको सुरुङमार्ग ‘ब्रेक थ्रु’ कार्यक्रम प्रधानमन्त्रीको समयअनुसार माघ ११ गतेलाई सारिएको हो।
सुरुङमार्ग खनेर सक्न अब डेढ मिटर मात्र बाँकी छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको अति दुर्घटना स्थल सिद्धबाबामा सुरुङमार्ग आयोजना अगाडि बढाइएको हो । एक हजार १२६ मिटरको सुरुङमध्ये खन्नुपर्ने भाग एक हजार ८९ मिटर मात्रै भएको आयोजनाले जनाएको छ।
यसअघि नै तीन वटा बाइपास सुरुङ मुख्य सुरुङसम्म जोडिएको छ । बाइपास सुरुङ–३ को गत भदौ २६ मा, बाइपास सुरुङ–१ को असोज ४ मा र बाइपास सुरुङ–२ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो । बाइपास–१५१, २६१ र ३३० मिटर टनेल छन् । दक्षिणतर्फ ६०८ र उत्तरतर्फ ४७९.५ मिटर सुरुङ खनिएको छ । आयोजनाका अनुसार ‘ब्रेक थ्रु’ समारोह हुने दिनमा साढे एक मिटर भागलाई विस्फोट गरिने छ ।